गजल

आजभोलि प्रत्येक साँझ तिम्रै बानी भएछ।
बित्दै गयो समय, चोटहरू कहानी भएछ।

सदाझैँ फलोस फुलोस खुसीको बालीनाली
तिम्रो निर्दोष मुस्कान मेरो आम्दानी भएछ।

देखिने दुःख केही छैन, ठीक छु, हो, हुनेछु
झरीमा भिज्दै गर्दा आँशु सबै पानी भएछ।

आगत विगतसँगै केही बोतल सकियो
साथी भन्दै थियो, केटो प्रसस्त खानी भएछ

तिमीसम्म पुग्ने मनको ढोका बन्द देखेसी
धूम्रपान फेरि स्वास्थ्यको लागि हानी भएछ।

सधैं तिम्रा आँखा मेरो मायादेखि दूर देख्छु
त्यसै दिक्क लाग्छ, मन मेरो अज्ञानी भएछ ।

जीवनको अस्तित्व अब अरबमा खोज्नुछ,
हो, रहरका ती प्रेमपत्र राहदानी भएछ।

Leave a comment

Blog at WordPress.com.