प्रत्येकपल्ट;
पुर्णिमाका चिसा रातसंगै
निराशाका असिम तरंगहरु
मेरो आफ्नो अवनिमा
अवतरित भएपछी
निश्चय नै
म अलिकती औँशी चाहन्छु ।
अग्राहय रात चाहन्छु ।
संसारले नदेखोस,
अब मेरा कुरुपताका रंगहरु ।
समालोचकहरु मौन बसुन,
अशोभित, असमाप्त
मेरा अनगिन्ती कवितामाथी ।
अश्रुझैँ असीमित, असंगत ति शब्दधारामाथी ।
मलाई,
त्यो क्षणिक उज्यालो चाहिंन्न ।
जहाँ
निराशाका प्याकेटहरु
सदा अक्षोभ्य रहन्छन ।
अहंकारका ढिक्काहरु
सदा अबिनाशी रहन्छन ।
कोलाहल, चिच्याहट
क्रन्दन र द्दन्द्दका
ज्वालामुखिहरु…
हो, फुटिनैरहन्छन ।
बरु म
झ्याँउकिरीसँगै गाउन चाहन्छु ।
जुनकिरिसँगै नाच्न चाहन्छु ।
एकमुठी समय आफ्नो पासमा राख्दै,
फेरी एकचोटी बाँच्न चाहन्छु ।
निश्चय नै
म अलिकती औँशी चाहन्छु ।
अग्राहय रात चाहन्छु ।
Leave a comment